दुर्व्यसन विरुद्ध चेतनाको आवाज: नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरामा मंचन
पाेखरा | पुस २५, २०८२
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ ।
साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्बा गुरुङ र सितला अधिकारीको संयुक्त निर्देशनमा तयार भएको यो नाटकले दुर्व्यसनका कारण युवाहरूले भोग्नुपरेका पीडा र त्यसले परिवार तथा समाजमा पार्ने गहिरो असरलाई प्रभावकारी रूपमा उजागर गरेको छ ।
नाटक सरल कथावस्तु, सहज निर्देशन र मन छुने अभिनयका कारण दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल देखिन्छ । एक घण्टाको अवधिमा प्रस्तुत नाटकले दुव्र्यसन केवल व्यक्तिगत समस्या नभई पारिवारिक र सामाजिक संकट हो भन्ने सन्देश स्पष्ट रूपमा दिन्छ ।
नाटकको लेखक साबित्रा पाठक (सबु)ले समाजमा देखिँदै आएको यथार्थ पीडालाई नाटकमा प्रस्तुत गर्ने प्रयास गरिएको बताइन्। “दुव्र्यसनका कारण धेरै परिवार भित्रभित्रै पीडामा छन्। ती नबोलेका पीडालाई नाटकमार्फत आवाज दिन खोजिएको हो,” उनले भनिन्।
नाटकका निर्देशक पंच सुब्बा गुरुङले सामाजिक जिम्मेवारी बोकेको नाटक प्रस्तुत गर्न पाउँदा सन्तोष लागेको बताए । “मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य बनाउने नाटक हाम्रो उद्देश्य हो । दर्शकको प्रतिक्रियाले हामी सही दिशामा छौँ भन्ने महसुस गराएको छ”, उनले भने।
सह–निर्देशक सितला अधिकारीका अनुसार नाटकले युवाहरूलाई सही बाटो रोज्न प्रेरित गर्ने विश्वास लिएको छ । “युवाहरू लक्षित नाटक भए पनि यसको प्रभाव परिवार र समाज सबैमा पर्नेछ भन्ने हाम्रो विश्वास हो”, उनले बताइन्।
नाटक हेरेपछि प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले नाटक समयसापेक्ष र सशक्त रहेको बताइन् । “समाजमा बढ्दो दुव्र्यसनको यथार्थ चित्रण नाटकले प्रभावकारी रूपमा गरेको छ। यस्तो नाटकले सामाजिक चेतना अभिवृद्धिमा ठूलो भूमिका खेल्छ”, उनले भने ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले नाटकले गम्भीर विषयलाई सरल र मार्मिक ढंगले प्रस्तुत गरेको उल्लेख गरे । “कलात्मक प्रस्तुति र सशक्त अभिनयमार्फत दर्शकलाई सोच्न बाध्य बनाउने नाटक बनेको छ । यस्ता सामाजिक नाटकको निरन्तरता आवश्यक छ”, उनले भने।
त्यसैगरी चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल ले नाटकलाई समाजका लागि आवश्यक दस्तावेजको संज्ञा दिए । “दुव्र्यसनविरुद्ध चेतना फैलाउने यस्ता सिर्जनाले रंगमञ्चको सामाजिक उत्तरदायित्व पुष्टि गर्छ, उनले भने ।
पोखरा थिएटरका सञ्चालक परिवर्तनले पनि नाटकको प्रशंसा गर्दै सामाजिक विषयवस्तुमा आधारित सिर्जनालाई पोखरा थिएटरले प्राथमिकता दिँदै आएको बताए । “सामाजिक यथार्थ बोल्ने नाटक पोखरा थिएटरको मञ्चमा आउनु सकारात्मक कुरा हो । ‘मृत्यु यस्तो हुनु हुँदैन’ दर्शकका लागि अर्थपूर्ण नाटक बनेको छ”, उनले भने ।
कतिपय प्राविधिक कमजोरी देखिए पनि समग्रमा नाटकले दर्शकलाई समय बितेको पत्तै नहुने गरी कथा र भावनासँग जोड्न सफल भएको छ । सामाजिक चेतना, जिम्मेवारी र परिवर्तनको सन्देश बोकेको नाटक “मृत्यु यस्तो हुनु हुँदैन” सबैले हेर्नुपर्ने नाटकका रूपमा स्थापित हुँदै गएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

